अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ स्थित दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २७ जना घाइते भएका छन्।सन्धिखर्क–घुम्ती–तानसेन पाल्पा सडकखण्डअन्तर्गत कुरुलेफाट नजिक भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै, एक जनाको अर्घाखाँची अस्पतालमा उपचारका क्रममा र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा राम माया बस्नेत, बिन्दु कुँवर , कौशिला रेग्मी  तथा बस चालक रमेश जीसी  रहेका छन्।प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अर्घाखाँची अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि केही घाइतेलाई भैरहवा पठाइएको छ।

दुर्घटनामा परेका अधिकांश यात्रु पर्वत जिल्लाको मोदी गाउँपालिकाका रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पर्वतबाट सुपा देउराली दर्शन गरेर फर्किंदै गरेको ध१ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो।प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएर सडकबाट अनियन्त्रित भई करिब १०० मिटर तल जंगलमा खसेको बताइएको छ।

घटनास्थलमा प्रहरी टोली र स्थानीयवासीले उद्धार कार्य गरेका थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।