काठमाडौं । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन प्रवर्द्धनप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आयोजित दोस्रो अन्तरराष्ट्रिय आप्रवासन समीक्षा मञ्चको बहसमा बोल्दै उनले नेपाल प्रमुख श्रम आपूर्तिकर्ता मुलुक भएकाले सुरक्षित र मर्यादित आप्रवासनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे।

ADVERTISEMENT

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार थापाले करिब ४० लाख नेपाली आप्रवासी श्रमिकले विदेशमा काम गर्दै नेपालको अर्थतन्त्र र विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए। उनका अनुसार विप्रेषण, सीप र ज्ञान हस्तान्तरणमार्फत आप्रवासी नेपालीले आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय भूमिका खेलेका छन्।

ADVERTISEMENT

उनले भर्ती प्रणाली सुधार, लैङ्गिक उत्तरदायी आप्रवासन नीति, सीप विकास, मानव बेचबिखन नियन्त्रण, सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सामाजिक सुरक्षा विस्तारका क्षेत्रमा नेपालले विभिन्न सुधारात्मक पहल अघि बढाएको जानकारी दिए। भर्ती सेवामा डिजिटल प्रणाली लागू गर्ने काम पनि भइरहेको उनले बताए।

थापाले अनियमित आप्रवासन, मानव बेचबिखन, श्रम शोषण र अन्तरदेशीय समन्वय अभावजस्ता चुनौती अझै कायम रहेको उल्लेख गर्दै यी समस्याको समाधानका लागि अन्तरराष्ट्रिय सहकार्य र साझा जिम्मेवारी आवश्यक रहेकोमा जोड दिए।

ADVERTISEMENT