काठमाडौं । प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको आकस्मिक बैठक सुरु भएको छ ।
संवैधानिक परिषद्को बैठकले बिहीबार वरिष्ठता मिचेर चौथौ नम्बरमा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । यसप्रति धारणा बनाउन बारको आकस्मिक बैठक बसिरहेको हो ।
बारको बैठकमा कार्यसमितिका साथै सल्लाहकार र पूर्वपदाधिकारी पनि सहभागी छन् । बारले अहिलेसम्म प्रधानन्यायाधीशको सिफारिसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । तर, वरिष्ठता र परम्परा मिचिएकोमा भने कानुन व्यवसायी असन्तुष्ट छन् ।
प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता र स्थापित परम्परा मिचेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिएको भन्दै शुक्रबार रिट दायर गरेका हुन् ।








