काठमाडौँ। ‘मानवतामा एकताबद्ध’ भन्ने मूल नाराका साथ आज विश्वभर विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। युद्ध, विपद्, महामारी र मानवीय संकटका बेला निस्वार्थ सेवा पुर्याउँदै आएका लाखौँ स्वयंसेवक तथा मानवीय अभियन्ताको योगदानको सम्मानस्वरूप हरेक वर्ष मे ८ मा यो दिवस मनाइने गरिन्छ।
यस अवसरमा जारी सन्देशहरूमा विभाजित र जटिल बन्दै गएको विश्वमा रेडक्रस तथा रेड क्रिसेन्टका स्वयंसेवक र कर्मचारीहरूले समुदायभित्रै रहेर सहानुभूति, आशा, सम्मान र सहयोग प्रदान गरिरहेको उल्लेख गरिएको छ। साथै, मानवीय सेवाका क्रममा ज्यान गुमाएका स्वयंसेवक र कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निष्पक्ष, स्वतन्त्र र तटस्थ मानवीय सहायता आवश्यकतामा रहेका सबै व्यक्तिसम्म पुग्नुपर्नेमा जोड दिइएको छ।
विश्व रेडक्रस दिवस मनाउने अवधारणा प्रथम विश्वयुद्धपछि विश्वशान्तिका लागि साझा मानवीय अभियान सञ्चालन गर्ने सोचसँगै अघि बढाइएको थियो। सन् १९४८ मे ८ मा पहिलो पटक यो दिवस मनाइएको हो। पछि सन् १९८४ देखि यसलाई औपचारिक रूपमा ‘विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस’ नाम दिइएको थियो।
मे ८ लाई अन्तर्राष्ट्रिय रेडक्रस समितिका संस्थापक तथा पहिलो नोबेल शान्ति पुरस्कार विजेता हेनरी डुना आण्टको जन्मजयन्तीको अवसरमा यो दिवस मनाइन्छ। हेनरी ड्युनाले युद्धपीडित र घाइतेहरूको उद्धार तथा मानवीय सेवाको अवधारणालाई संस्थागत गर्दै विश्व रेडक्रस अभियानको सुरुवात गरेका थिए।
नेपालमा भने विश्व रेडक्रस स्थापना भएको करिब एक शताब्दीपछि वि.सं. २०२० भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो। तत्कालीन स्वास्थ्य मन्त्री डा. नागेश्वरप्रसाद सिंहको अध्यक्षतामा गठित तदर्थ समितिमार्फत संस्थाको आधार तयार पारिएको थियो। डा. जयनारायण गिरीलगायतको सक्रिय पहलले नेपालमा रेडक्रस अभियान विस्तार हुन सहयोग पुगेको मानिन्छ।
नेपाल रेडक्रस सोसाइटीका पहिलो अध्यक्ष प्रिन्सेप शाह रहेकी थिईन । स्थापना भएको एक वर्षपछि, सन् १९६४ मा नेपाल रेडक्रसले अन्तर्राष्ट्रिय रेडक्रस समिति (ICRC) बाट औपचारिक मान्यता प्राप्त गरेको थियो। सोही वर्ष रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (IFRC) मा पनि नेपाल रेडक्रस आबद्ध भएको थियो।
काठमाडौँबाट सुरु भएको नेपाल रेडक्रसको अभियान अहिले देशभर फैलिएको छ। हाल यस संस्थाका ७७ वटै जिल्लामा शाखा कार्यालय रहेका छन् भने १,५०० भन्दा बढी उपशाखा र ६,००० भन्दा बढी जुनियर तथा युवा सर्कल सक्रिय छन्।
नेपाल रेडक्रसले विपद् व्यवस्थापन, रक्तसञ्चार सेवा, प्राथमिक उपचार, स्वास्थ्य सचेतना, उद्धार तथा राहत वितरणजस्ता क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। भूकम्प, बाढीपहिरो, महामारी तथा अन्य मानवीय संकटका समयमा संस्थाका हजारौँ स्वयंसेवक अग्रपंक्तिमा खटिने गरेका छन्।
मानवीय सेवाको भावना, निष्पक्ष सहयोग र समुदायसँगको प्रत्यक्ष सम्बन्धका कारण रेडक्रस अभियान विश्वव्यापी रूपमा सबैभन्दा ठूलो स्वयंसेवी मानवीय सञ्जालमध्ये एक मानिन्छ।





