काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै निःशुल्क स्वास्थ्य शिविर तथा देशव्यापी बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।कम्पनीले वैशाख २१ र २२ गते प्रधान कार्यालय परिसरमा सञ्चालन गरेको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमार्फत ६०१ जनालाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ।

स्वास्थ्य परीक्षण सेवा बी एन्ड बी डायग्नोस्टिकमार्फत उपलब्ध गराइएको थियो। शिविरमा इसिजी, थाइराइड परीक्षण, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल, युरिक एसिडलगायत विभिन्न स्वास्थ्य परीक्षण निःशुल्क गरिएको थियो। साथै विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको कम्पनीले जनाएको छ।

यससँगै नेपाल लाइफले देशभरका सातै प्रदेशका १३ विभिन्न स्थानमा बृहत् रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो। कार्यक्रमअन्तर्गत कोशी प्रदेशको इटहरीबाट ३० पिन्ट, मधेश प्रदेशको वीरगञ्जबाट २५ र जनकपुरबाट २५ पिन्ट रगत संकलन गरिएको छ।

ADVERTISEMENT

त्यस्तै बागमती प्रदेशअन्तर्गत काठमाडौंबाट ७८, नारायणगढबाट ८१, नुवाकोटबाट ३९, हेटौंडाबाट २६ र बनेपाबाट ३२ पिन्ट रगत संकलन भएको छ। गण्डकी प्रदेशको पोखराबाट ५५, लुम्बिनी प्रदेशको बुटवलबाट ३३ र भैरहवाबाट ३४, कर्णाली प्रदेशको सुर्खेतबाट २५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीबाट ३३ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

देशभर सञ्चालन गरिएको उक्त अभियानमार्फत कुल ५०५ पिन्ट रगत संकलन भएको छ।

ADVERTISEMENT

‘जीवन अमूल्य छ’ भन्ने नारालाई आत्मसात् गर्दै आएको नेपाल लाइफले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रममार्फत समुदायसँगको सम्बन्ध थप सुदृढ बनाउँदै आएको जनाएको छ।

नेपाल लाइफ हाल देशकै अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो। कम्पनीले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको दाबी गरेको छ। विगत २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ।

कम्पनीसँग ६९ हजारभन्दा बढी अभिकर्ताको सशक्त सञ्जाल रहेको छ, जसमार्फत बीमा सेवा देशव्यापी रूपमा विस्तार गरिएको छ।

वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको यात्रामा साथ दिने सञ्चालक समिति, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन्।

उनले आगामी दिनमा पनि सबैको विश्वास, सहयोग र सहकार्य प्राप्त हुने अपेक्षा व्यक्त गर्दै सेवा गुणस्तरलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।