काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती)को अवसरमा विशेष बीमा पुनर्जागरण योजना सार्वजनिक गरेको छ। कम्पनीले व्यतीत (निष्क्रिय) बीमालेखहरू पुनः सक्रिय गराउन विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।
कम्पनीका अनुसार मिति २०८३ वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म लागू हुने यस योजनाअन्तर्गत बीमितहरूले आफ्नो निष्क्रिय बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट पाउनेछन्। आर्थिक कठिनाइका कारण धेरै बीमालेख व्यतीत भइरहेका बेला बीमितलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यस्तो योजना ल्याइएको कम्पनीले जनाएको छ।
नेपाल लाइफले पहिलोपटक यति ठूलो परिमाणमा विलम्ब शुल्क छुट दिने योजना ल्याएको हो। ३० दिनको सीमित अवधिका लागि ल्याइएको यस अवसरलाई अधिकतम रूपमा उपयोग गर्न कम्पनीले सबै बीमितलाई आग्रह गरेको छ। कम्पनीका अनुसार बीमालेख पुनर्जागरणले बीमित र उनका परिवारको आर्थिक सुरक्षालाई निरन्तरता दिनेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमालेख व्यतीत हुनु विभिन्न परिस्थितिको परिणाम हुन सक्ने उल्लेख गर्दै ग्राहकलाई पुनः सुरक्षा दायरामा ल्याउन योजना लागू गरिएको बताएका छन्। उनका अनुसार कम्पनीले सधैं ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्दै आएको छ।
नेपाल लाइफ इन्स्योरेन्स देशकै अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो। कम्पनीले करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको दाबी गर्दै आएको छ। विगत २५ वर्षदेखि लाखौँ नेपाली परिवारलाई सेवा दिँदै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ।
हाल कम्पनीसँग ६९ हजारभन्दा बढी अभिकर्ताहरूको सशक्त नेटवर्क रहेको छ, जसमार्फत बीमा सेवा सहज रूपमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले सेवा गुणस्तर, पहुँच र विश्वसनीयतामा निरन्तर सुधार गर्दै बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको जनाएको छ।
कम्पनीले यस विशेष योजनालाई अवसरका रूपमा लिएर सबै बीमितलाई आफ्नो बीमालेख नवीकरण गरी भविष्य सुरक्षित बनाउन आग्रह गरेको छ।






