काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधार तथा गुणस्तरीय शिक्षाको विकासका लागि फिनल्यान्ड सरकारसँग सहकार्य विस्तार गर्न चासो देखाएको छ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काले बिहीबार मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सहकार्य विस्तारको प्रस्ताव राखेका हुन्।
विश्वमै उच्च गुणस्तरको शिक्षा प्रणालीका लागि परिचित फिनल्यान्डसँगको सहकार्यले नेपालको शिक्षा प्रणाली सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास सरकारले व्यक्त गरेको छ।भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र फिनल्यान्डबीच सधैं सौहार्दपूर्ण र सुदृढ सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्ड सरकारले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
उनले सरकारका प्राथमिकता तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै शिक्षा क्षेत्रमा फिनल्यान्डले गरिरहेको सहयोगको सराहना गरे। साथै आगामी दिनमा शिक्षालगायत अन्य विकासका क्षेत्रमा पनि फिनल्यान्डको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।भेटका क्रममा राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोग आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।
हाल फिनल्यान्ड सरकारको सहयोगमा नेपालमा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम तथा ‘टिचर्स एजुकेशन’ परियोजना सञ्चालनमा रहेका छन्। यी परियोजनाले शिक्षक क्षमता विकास, शिक्षण सिकाइ सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याइरहेका छन्।
नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति अघि सारेको सन्दर्भमा राजदूत पुहाक्काले अटिजम शिक्षा र समावेशी शिक्षामा फिनल्यान्डसँग पर्याप्त अनुभव तथा विशेषज्ञता रहेको उल्लेख गर्दै यस क्षेत्रमा सहयोग तथा सहकार्य गर्न इच्छुक रहेको बताए।
त्यसैगरी, वर्तमान सरकारको प्राथमिकतामा रहेको डिजिटल रूपान्तरणको एजेण्डामा पनि फिनल्यान्डले साझेदारी गर्न चाहेको उनले स्पष्ट पारे। फिनल्यान्डको प्राविधिक दक्षता र अनुभवका आधारमा सो क्षेत्रमा सहकार्य गर्न सकिने उनको भनाइ थियो।








