कञ्चनपुर। भीमदत्त नगरपालिकाले महिलाको उच्च शिक्षामा पहुँच विस्तार गर्ने लक्ष्यसहित ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न नसकेका छोरीबुहारीलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।

नगरपालिकाका अनुसार नगर क्षेत्रभित्रका जेहेन्दार, दलित तथा विपन्न वर्गका छोरीबुहारीलाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गरिनेछ। विशेषगरी विवाहपछि अध्ययनलाई निरन्तरता दिन चाहने महिलालाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमअन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार एमबिबिएस अध्ययन गर्ने दुई जनालाई जनही दुई लाख रुपैयाँ र इन्जिनियरिङ अध्ययन गर्ने तीन जनालाई जनही एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिनेछ।

त्यसैगरी नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायमा अध्ययनरत छ जना छात्रालाई जनही ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइनेछ। यसबाट विभिन्न क्षेत्रमा अध्ययन गरिरहेका महिलालाई प्रत्यक्ष आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले यो कार्यक्रममार्फत उच्च शिक्षामा महिलाको सहभागिता बढाउने र दीर्घकालीन रूपमा सशक्तीकरणमा टेवा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर परिवारका महिलाले शिक्षा हासिल गर्न पाउने अवसर विस्तार हुने विश्वास गरिएको छ।

नगरपालिकाका अनुसार आर्थिक अभावकै कारण धेरै महिलाले माध्यमिक तहपछि पढाइ छोड्ने अवस्था रहेको छ। यस्तो अवस्थालाई अन्त्य गर्दै उनीहरूलाई उच्च शिक्षातर्फ आकर्षित गर्न छात्रवृत्ति कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यस कार्यक्रमले छोरीबुहारीलाई मात्र नभई समग्र समाजमा शिक्षाप्रति सकारात्मक सन्देश दिने विश्वास गरिएको छ। महिलाको शिक्षामा लगानी बढ्दा परिवार र समाज दुवैको विकासमा योगदान पुग्ने नगरपालिकाको भनाइ छ।

भीमदत्त नगरपालिकाले आगामी दिनमा पनि यस्ता लक्षित कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सुधार ल्याउने योजना अघि बढाएको जनाएको छ।