काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय नागरिकस्तरबाट आफ्नो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिँदै आफूले पदबाट राजीनामाको घोषणा गरेको उनले बताएका छन् ।

राजीनामा दिनुअघि गुरुङले बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए । पछिल्लो समय नागरिकस्तरबाट आफ्नो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिँदै आफूले पदबाट राजीनामाको घोषणा गरेको उनले बताएका छन् ।

‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

गुरुङले आफ्ना लागि पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वासभन्दा ठूलो शक्ति नभएको भन्दै आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको उनले उल्लेख गरेका छन् । ‘सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइबहिनीहरुको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,’ उनले लेखेका छन् ।

गुरुङले आफूले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको उल्लेख गरेका छन् । ‘अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आमनेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथीहरुको कहाँ कहाँ स्वीट सेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ,’ उनले लेखेका छन् ।