काठमाडौं । नेपाल प्रहरीले गुण्डागर्दी तथा आपराधिक पृष्ठभूमिमा संलग्न १ हजार ९७ जनाका प्रोफाइल तयार पारेको छ । एक हजार ९७ जनामा गुण्डागर्र्दीदेखि अन्य आपराधिक गतिविधमा संलग्न व्यक्तिहरु पनि समेटिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले आपराधिक गतिविधिमा संलग्नहरुको विस्तृत प्रोफाइल तयार पारिएको बताए । प्रवक्ता भट्टराईका अनुसार विगतमा गुण्डागर्दीको आवरणमा विभिन्न धन्दा गरेका, पटक–पटक पक्राउ परेर मुद्दा चलेका र सामाजिक सञ्जालमार्फत आफ्नो समूहको बिस्तार गर्दै प्रचार–प्रसार गर्नेहरुसम्मको प्रोफाइल तयार पारिएको छ ।
यस्ता व्यक्तिको फोटो, नाम, ठेगाना, पेसा, सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम), उनीहरुको कनेक्शन तथा नेक्सस, पारिवारिक पृष्ठभूमि, ट्राभल हिस्ट्री र अन्य रिलेटेड डकुमेन्टसहितको प्रोफाइल तयार पारिएको प्रहरीले बताएको छ । यसरी प्रोफाइल तयार पारेपछि उनीहरुको गतिविधि निगरानी गर्नेदेखि कुनै आपराधिक घटना गराइहालेमा तत्काल कानूनी दायरामा ल्याउन सहयोग पुग्ने प्रहरीले बताएको छ ।
गुण्डागर्दीसँगै लागु औषध, चोरी घटनाका पटकेहरुको पनि प्रोफाइल तयार पार्ने काम भएको छ ।
यसअघि परिसर काठमाडौंले एकै दिन सेफ्टी काठमाडौं अभियान अन्तर्गत १९५ जनालाई पक्राउ गरेको थियो । ती मध्ये केही धरौटीमा छुटेका छन् भने केही अझै पनि प्रहरी हिरासतमै छन् ।







