काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सिंहदरबार र आसपासका सरकारी निकायमा इन्टरनेट सेवा थप सहज, छिटो र अवरोधरहित बनाउन विशेष पहल थालेको छ। यसका लागि मन्त्रालयले एकीकृत ‘डाटा’ व्यवस्थापन केन्द्रलाई आवश्यक निर्देशन दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईसँगको छलफलमा सिंहदरबार क्षेत्रको सूचना प्रविधि पूर्वाधारलाई सुदृढ बनाउन निर्देशन दिएका छन्। उनले कुनै पनि अवस्थामा इन्टरनेट सेवा अवरुद्ध हुन नहुने भन्दै सेवा प्रदायक निकायलाई उच्च सतर्कता अपनाउन भनेका छन्।

छलफलका क्रममा उनले सम्भावित अवरोधका कारण पहिचान गरी समयमै समाधान गर्नुपर्ने, नियमित अनुगमन र समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। डिजिटल सेवा सुधार नगरी प्रभावकारी प्रशासन सम्भव नहुने भन्दै प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको उनले बताए।

एकीकृत डाटा व्यवस्थापन केन्द्रका अनुसार हाल सिंहदरबार क्षेत्रमा नेपाल टेलिकममार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा छ भने ‘जी–क्लाउड’का लागि २५० एमबिपिएस अतिरिक्त ब्यान्डविथ प्रयोग भइरहेको छ।

इन्टरनेट अवरोध प्रायः अप्टिकल फाइबरमा हुने क्षति, सडक निर्माणका क्रममा केबल काटिने समस्या र पूर्वाधार अव्यवस्थाका कारण देखिने गरेको बताइएको छ। दीर्घकालीन समाधानका लागि फाइबरलाई भूमिगत रूपमा व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

केन्द्रले विगतमा रहेको वैकल्पिक प्रणाली कमजोर बनेको स्वीकार गर्दै त्यसलाई पुनः सुदृढ गर्ने तयारी भइरहेको जनाएको छ। साथै प्रत्येक मन्त्रालयमा दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन आवश्यक रहेको पनि उल्लेख गरिएको छ।

सरकारले डिजिटल पूर्वाधार सुधारमार्फत सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।