काठमाडौं । पोखरा महानगरपालिका-५ की सिर्जना पौडेल केसीको हत्या अंशका लागि भएको खुलेको छ । एकल महिला पौडेलले पृथ्वीचोकमा जुत्ता पसल सञ्चालन गर्दै आइरहेकी थिइन् । उनको बुधबार साँझ बीच बजारमै खुकुरी प्रहार गरी विभत्स ढंगले हत्या भएको थियो । शिवालय चोकबाट सभागृह चोकतर्फ हिँडिरहेकी उनको कन्चटमा धारिलो हतियार प्रहार गरी अज्ञात समूह फरार भएको थियो ।

दुई वर्षअघि श्रीमान् गुमाएकी सिर्जनाको तीन वर्षकी छोरी छन् । विवाह र श्रीमानको मृत्युपछि बढेको पारिवारिक कलह र अंशमुद्दाको विवादले सिर्जनाको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीले हत्यामा आफ्नै भाञ्जा संलग्न रहेको निष्कर्ष निकाल्दै पक्राउ गरेको छ ।

ADVERTISEMENT

पक्राउ परेका युवक पटक–पटक लागुऔषध, अभद्र व्यवहारदेखि चोरीसम्मको अभियोगमा यसअघि नै हिरासतमा परेर छुटेको खुलेको छ । खुकुरी प्रहार गरेर भाग्ने भाञ्जालाई प्रहरीले समातेको छ भने मोटरसाइकल चालकको खोजी गरिरहेको जनाएको छ ।

ADVERTISEMENT

दुई वर्षअघि श्रीमानको मृत्यु भएपछि जेठीतिरका छोराछोरीसँग उनको विवाद चलिरह्यो । उनले अदालतमा अंशमुद्दा हालेकी थिइन् ।

प्रहरी अनुसन्धानका अनुसार घटनामा संलग्न व्यक्तिहरूले दिउँसैदेखि सिर्जनाको गतिविधिमाथि निगरानी गर्दै रेकी गरेका थिए। उनीहरूले सिर्जनाको पसल अगाडिको चिया पसलमा बसेर निगरानी गरेको र पछि पछ्याउँदै सभागृह चोकतर्फ पुगेको पाइएको छ। घटनास्थल आसपासका सटरहरू बन्द हुँदै गइरहेको र बत्ती पनि कम भइरहेको मौका छोपेर उनीहरूले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

पर्याप्त सिसीटिभी फुटेज नभएकाले सुरुवाती चरणमा अभियुक्त पहिचान गर्न प्रहरीले कठिनाइ भोग्नुपरेको थियो। तर अनुसन्धानलाई परिवारतर्फ केन्द्रित गर्दै बयान र प्रमाणहरू संकलन गर्दा घटनामा संलग्न व्यक्तिसम्म प्रहरी पुग्न सफल भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान र बयानअनुसार पक्राउ परेका भाञ्जाले सिर्जनाले आफूलाई बारम्बार हेप्ने र अपहेलित गर्ने गरेको कारण आवेशमा आएर हत्या गरेको बताएका छन्। तर प्रहरीले यो घटनामा केवल व्यक्तिगत आवेग मात्र नभई परिवारभित्रै अन्य सदस्यको पनि योजना हुन सक्ने आशंकासहित थप अनुसन्धान अघि बढाइरहेको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले परिवारकै तीनजनालाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएर बयान लिएको थियो। पारिवारिक कलह, अंश विवाद र सम्पत्तिसम्बन्धी मुद्दालाई पछ्याउँदै जाँदा अनुसन्धानको सुई परिवारभित्रै केन्द्रित भएको हो।