काठमाडौँ। सरकारले आगामी शैक्षिक सत्र २०८३ का लागि भर्ना अभियान तथा विद्यालय सञ्चालनसम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको सूचनाअनुसार नयाँ शैक्षिक सत्रको व्यवस्थापन, पठनपाठन र बिदा प्रणालीमा महत्वपूर्ण परिवर्तन लागू गरिने भएको हो।

केन्द्रका अनुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेदेखि सुरु हुनेछ भने नियमित पठनपाठन वैशाख २१ गतेदेखि सञ्चालन गरिनेछ। यसका लागि सबै स्थानीय तह र विद्यालयलाई आवश्यक तयारी गर्न अनुरोध गरिएको छ।

ADVERTISEMENT

मन्त्रिपरिषद्को निर्णयअनुसार अब सरकारी कार्यालयसँगै सम्पूर्ण शैक्षिक संस्थामा पनि शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा लागू हुनेछ। नयाँ बिदा प्रणालीलाई ध्यानमा राख्दै विद्यालयहरूले आफ्नो शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्नुपर्नेछ।

त्यसैगरी, केन्द्रले वैशाख २ गतेदेखि नै विद्यालयहरूलाई विभिन्न प्रवर्द्धनात्मक तथा रचनात्मक गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ। यसअन्तर्गत शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण, वार्षिक कार्यतालिका तयार गर्ने, शैक्षणिक योजना बनाउने तथा विद्यालय सुधार योजना निर्माण र अद्यावधिक गर्ने कार्य समावेश छन्।

ADVERTISEMENT

सूचनामा शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधारका लागि विशेष योजना बनाइ कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।