काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेन प्रधानमन्त्री भएदेखि सेयर बजारमा गएको पहिरो रोकिएको छैन । साढे २९ सयको विन्दुमा पुगेको नेप्से एक सातामै तीन सय अंकले घटेको हो । जुन अहिलेसम्मकै सबैभन्दा बढी गिरावट हो ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक शतकभन्दा बढी अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०५.५० अंक घटेर २६७६.६८ विन्दुमा झरेको छ।
११५ कारोबार दिनपछि नेप्से परिसूचक १०० अंकभन्दा बढीले घटेको हो। यसअघि गत असोज २ गते नेप्से परिसूचक १६०.३३ अंक घटेको थियो।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार आठ अर्ब ८१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३४५ स्टकको एक लाख ४१ हजार ३६ पटकको कारोबारमा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँबराबरको तीन करोड १२ लाख ६ हजार कित्ता सेयर कारोबार भएको छ ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको ५८ करोड २८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सको ४५ करोड रुपैयाँभन्दा बढी र ङादी ग्रुप पावरको कारोबार रकम ४२ करोड रुपैयाँ नाघेको छ।
आइतबार ६ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्डा हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भि इनर्जीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशत घटेको छ। जलविद्युत र विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ । बैंकिङ, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।





