काठमाडौं । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालको समष्टिगत आर्थिक तथा वित्तीय अवस्था सन्तोषजनक दिशातर्फ उन्मुख देखिएको छ। मुद्रास्फीति नियन्त्रणमा रहनु, विदेशी विनिमय सञ्चिति उच्च रहनु तथा चालु खाता र शोधनान्तर दुवै बचतमा रहनुले अर्थतन्त्रमा स्थायित्वको संकेत दिएको छ।
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित रहेको छ, जसले मूल्यवृद्धि नियन्त्रणमै रहेको देखाउँछ। यसैगरी कुल विदेशी विनिमय सञ्चिति ३४१३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने अमेरिकी डलरमा यो २३ अर्ब ८ करोड बराबर रहेको छ। यस्तो सञ्चिति १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
बाह्य क्षेत्रतर्फ पनि उल्लेखनीय सुधार देखिएको छ। चालु खाता ५५२ अर्ब ८५ करोड रुपैयाँ र शोधनान्तर स्थिति ६५८ अर्ब ३५ करोड रुपैयाँ बचतमा रहेको छ। विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भई नेपाली रुपैयाँमा ३७.७ प्रतिशत र अमेरिकी डलरमा ३१ प्रतिशतले बढेको छ। फागुन महिनामा मात्र १८८ अर्ब ६४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ।
व्यापारतर्फ निर्यातमा २०.८ प्रतिशतको वृद्धि भएको छ भने आयात १२.५ प्रतिशतले बढेको छ, जसले व्यापार घाटा नियन्त्रणतर्फ संकेत गरेको छ।
सरकारी वित्ततर्फ हेर्दा नेपाल सरकारको कुल खर्च ९२६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने राजस्व संकलन ७४७ अर्ब २८ करोड रुपैयाँ रहेको छ।
मुद्रा तथा बैंकिङ क्षेत्र पनि विस्तारोन्मुख देखिएको छ। विस्तृत मुद्राप्रदाय ६.७ प्रतिशतले बढेको छ भने वार्षिक आधारमा १४.५ प्रतिशतले वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप ६.६ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेको छ। वार्षिक आधारमा निक्षेप वृद्धिदर १५.१ प्रतिशत र कर्जा वृद्धिदर ६.७ प्रतिशत रहेको छ।
ब्याजदर पनि तुलनात्मक रूपमा न्यून स्तरमै रहेको छ। अन्तरबैंक दर २.६८ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको ब्याजदर २.४७ प्रतिशत रहेको छ। त्यस्तै वाणिज्य बैंकहरूको निक्षेपमा औसत ब्याजदर ३.४५ प्रतिशत र कर्जामा ६.९० प्रतिशत कायम रहेको छ।
समग्रमा, मुद्रास्फीति नियन्त्रण, विप्रेषण वृद्धि र बाह्य क्षेत्र सुदृढतासँगै नेपालको अर्थतन्त्र विस्तारै सुधारको मार्गमा अघि बढिरहेको संकेत देखिएको छ।





