काठमाडौं । निर्वाचनपछि रास्वपाको सरकार बनेसँगै धेरैलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले मार्गप्रशस्त गर्ने आकलन गरेका थिए । तर सरकार बनेको पाँच दिनमै पौडेलमा पदमै रहेर काम गर्ने कन्फिडेन्स बढेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पौडेल विगतमा मिल्ने साथी थिए । कांग्रेसमा दुवैले सँगै राजनीति गरेका पनि हुन् । वाग्ले कांग्रेस छाडेर रास्वपा प्रवेश गरे । सांसद निर्वाचित भए । तर पौडेल सांसदमा पराजित भए । अघिल्लो सरकारका पालामा उनी गभर्नर नियुक्त भए ।
नयाँ सरकार बनेपछि को बन्ला गभर्नर भन्ने चासो बढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बालेन र अर्थमन्त्री डा.वाग्लेले गभर्नर पौडेललाई निर्भीक भएर काम गर्न भनेपछि उनी ढुक्क भएका छन् । गभर्नर पौडेलले आइतबार अर्थमन्त्री वाग्लेलाई मन्त्रालयमै गएर भेटघाट गरेका थिए । दुवैबीच डेढ घन्टा लामो कुराकानी भएको बताइन्छ ।
दुवैबीच आर्थिक अवस्था सुधार, रेमिट्यान्स आप्रवाह, खराब कर्जा, राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिलगायतका विषयमा कुराकानी भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ ।
गभर्नर पौडेलले सोमबार प्रधानमन्त्री बालेन्द्रसँग सिंहदरबारमा कुराकानी गरेका थिए । प्रधानमन्त्रीले गभर्नर पौडेललाई स्वतन्त्र रुपमा नडराई काम गर्न भनेका छन्।
भेटमा देशको आर्थिक अवस्था सुधारका बारेमा कुराकानी भएको थियो। सम्पत्ति शुद्धीकरण नियन्त्रणमा कडा कदम चाल्न प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई भनेका थिए। आर्थिक विकासमा राष्ट्र बैंकका सुझावहरु चाहेको प्रधानमन्त्रीले गभर्नरलाई सुनाएका थिए।
त्यसैगरी इरान द्वन्द्वले नेपालको अर्थतन्त्रमा पार्न सक्ने असर अध्ययन गरी सोहीअनुसार तयार रहन प्रधानमन्त्रीको आग्रह थियो। गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान पार्ने, सार्वजनिक वित्त सुधारलगायतबारे समाधानका उपायहरु सुनाएका थिए।








