काठमाडौं। सरकारले संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति जुटाउन विशेष समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, संविधान संशोधनजस्तो महत्वपूर्ण विषयमा व्यापक राजनीतिक सहमति आवश्यक भएकाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरूलाई समेटेर समिति बनाइनेछ।

ADVERTISEMENT

उनले भने, “हामीले आफ्नो ‘बाचापत्र’मै संविधान संशोधनका लागि राजनीतिक सहमति आवश्यक पर्ने उल्लेख गरेका थियौं। त्यसैअनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरिएको हो।”

मन्त्री पोखरेलका अनुसार, समितिले सबै राजनीतिक दलबीच छलफल गरी राष्ट्रिय सहमतिको आधार तयार गर्नेछ। यसका लागि समिति अन्तर्गत बहसपत्र तयार गरिनेछ, जसले संशोधनका प्रमुख विषयहरू र सम्भावित सहमतिको मार्गचित्र प्रस्तुत गर्नेछ।