काठमाडौं। नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले जारी गरेको सूचना अनुसार, भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१क को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गर्ने सबै व्यक्तिले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण अद्यावधिक गरी तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

सूचनामा भनिएको छ, “प्रतिनिधि सभाका माननीय सदस्यहरूले आर्थिक वर्ष २०८१/०८२ को अद्यावधिक सम्पत्ति विवरण सिलबन्दी खाममा देहायको विवरणहरू उल्लेख गरी संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखा (भवन नं. १, कोठा नं. २०७) मा कार्यालय समयभित्र दर्ता गराउनुहुन निर्देशानुसार यो सूचना प्रकाशित गरिएको छ।”

गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूले यही चैत १२ गते शपथ ग्रहण गरेका थिए। यसैअनुसार उनीहरूले आफ्नो सम्पत्ति विवरण पेश गर्ने समयसीमा पालन गर्नु अनिवार्य भएको छ।