ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल (पिक) आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलोपटक सफल आरोहण गरेका थिए ।

अन्नर्पूण फुटहिल्स टे«क्स एण्ड एक्सपिडिशनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चार्ल्स इली वेद्रिन्स र निकोलस पाउल अरीस्टाइड छन् ।

गत साता चिलिका एक नागरिकले कञ्चनजंघ हिमालको काखमै रहेको पाथीभरा हिमालको सफल आरोहण गरेको थिए । विश्वको ३२औँं अग्लो र नेपालको १५औँ अग्लो कुम्भकर्ण (फक्ताङलुङ) हिमाल आरोहण गर्न फ्रान्सका तीन नागरिक सो हिमालको आधार शिविर क्षेत्रमा पुगेको पर्यटन साहयक शेर्पाले बताए । सो हिमालकाे उचाइ ७७१० मिटर उचाइ रहेको छ ।

विसं २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका बताइएको छ । पछिल्लो वर्षहरुमा यहाँका हिमालहरु उत्साहकासाथ आरोहण गर्न थालिएका छन् । गत वर्षको कात्तिकमा चारजना दक्षिण कोरियन नागरिकले ६३२८ मिटर उचाइमा रहेको शार्फु–५ हिमालको पहिलो पटक सफल आरोहण गरेको थिए ।

गत वर्षको चैतमा शार्फु–४ हिमालमा पहिलोपटक आरोहण गरिएको थियो । चिलिका एक नागरिक हर्नान लील, पर्वतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले ६४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलो पटक आरोहण गर्न सफल भएका थिए ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार ३०० जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल क्षेत्र भ्रमण गरेका छन् । केही घुन्सा क्षेत्रमा विश्राम गरेका छन् । गत भदौ महिनाको तेस्रो सातादेखि मङ्सिर १५ गतेसम्म कञ्चनजंघा भ्रमण याम रहने शेर्पाले बताए ।

पर्यटन विभागका अनुसार गत वर्षको याममा अर्थात् मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला गरी ४१ जनाले ८५५६ मिटर उचाइको कञ्चनजंघा हिमालको चुचुरोमा सफलतापूर्वक आरोहण गरेका थिए । सो आरोहणबाट एक करोड ९७ हजार ४६० रुपैयाँ रोयल्टी संकलन भएको थियो ।