काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो पक्राउलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएको भन्दै त्यसविरुद्ध राजनीतिक तथा कानुनी लडाइँ लड्ने बताएका छन्। उनलाई शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउपछि प्रतिक्रिया दिँदै लेखकले सरकारको कदमप्रति कडा असन्तुष्टि व्यक्त गरे। उनले मन्त्रिपरिषद् निर्णयकै आधारमा पक्राउ गरिएको दाबी गर्दै यसले कानुनी प्रक्रियामाथि प्रश्न उठाएको बताएका छन्। “क्याबिनेटबाट निर्णय गरेर मान्छे पक्राउ गर्ने अभ्यास विश्वमै दुर्लभ हुन्छ,” उनले भने।
यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो गिरफ्तारीलाई प्रतिशोधपूर्ण भन्दै अस्वीकार गरेका छन्। उनले यस विषयमा कानुनी रूपमा प्रतिवाद गर्ने तयारीमा रहेको बताएका छन्।
तर सरकार पक्षले भने उक्त आरोप अस्वीकार गरेको छ। गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कानूनभन्दा माथि कोही नहुने स्पष्ट पारेका छन्। उनले यस कदमलाई प्रतिशोध नभई न्यायिक प्रक्रिया सुरु भएको संकेतको रूपमा व्याख्या गरेका छन्।
ओली र लेखक दुवैलाई जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको हो। घटनापछि देशको राजनीतिक वातावरण तातेको छ भने सत्तापक्ष र विपक्षबीच आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ।








