काठमाडौं । एक वर्षमा चार लाखभन्दा बढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ ।
नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रममार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको हो । संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले संघद्वारा नेपाल सरकार तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुको सहयोग तथा अस्पतालहरुको आन्तरिक श्रोतबाट निःशुल्क उपचार गरिएको जानकारी दिए ।
उनका अनुसार सन् २०२५ मा संघको सञ्जाल मार्फत ३३ लाख ७८ हजार ४२ जना आँखाका बिरामीहरुको आँखा परीक्षण गरि २ लाख ६६ हजार ४०१ जनाको शल्यक्रिया गरिएको छ ।
नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पु¥याउने दायित्व र निर्देशन प्राप्त भए अनुरुप स्वयमसेवक तथा कर्मचारीहरुमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्य, निर्देशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय जनसमुदाय एबं दाताहरुको साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई सर्वसाधारणको सहज, सर्वसुलभ र गुणस्तरीय उपचारमा पहुच पु¥याउन संघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघअन्तर्गतका अस्पतालहरुले प्रवाह गर्ने सेवाकै कारण छिमेकी मुलुक भारत, बंगलादेश, भुटानलगायतका मुलुकका नागरिकहरु समेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् । एक बर्ष अर्थात् सन् २०२५ मा मात्र संघको सञ्जाल मार्फत ९ लाख ११ हजार ९८० जना अन्य देशका नागरिकहरुको आँखा परीक्षण गरि १ लाख ५३ हजार ८६ बिरामीहरुको शल्यक्रिया गरिएको छ । यसमा अधिकांश भारतीय नागरिकहरु छन्,’ उनले भने ।
उनले नेपालमा उपलब्ध उच्चस्तरीय आँखा उपचार सेवाका कारण विदेशी नागरिकहरू समेत उपचारका लागि नेपाल आउने क्रम निरन्तर बढिरहेको बताए ।
संघका अध्यक्ष प्रा.डा. चेजराज पन्तले नेपालमा आँखा उपचारका क्षेत्रमा धेरै विकास भएता पनि अझै पनि धेरै नेपालीहरु आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा उपचारबाट बन्चित रहेको जानकारी दिए । उनका अनुसार नेपालका ७ वटै प्रदेशलाई समेट्ने गरी सन् २०२१ मा गरिएको आरएएबी सर्वेले समेत आँखा उपचार सम्बन्धी जनचेतनाका अभावमा सबैभन्दा बढि नागरिकहरु आँखा उपचार सेवाबाट बञ्चित रहेको देखाएको छ ।
गैरसरकारी संस्थाका रुपमा विस २०३५ साल चैत्र १३ गते संघको स्थापना भएको थियो । संघ आफ्नो स्थापनाको ४७ वर्ष पार गरी ४८ वर्षमा प्रवेश गरेको छ । ४८औँ नेत्रज्योति दिवसको सन्दर्भमा संघले आँखा स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि, प्रविधिको प्रयोगमार्फत सेवा सुदृढीकरण तथा समुदायस्तरमा सचेतना विस्तारलाई अझ प्राथमिकतामा राखेको संघले जनाएको छ ।
स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा संघको सञ्जाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी ५ करोड २ लाख ४८९ जना जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।










