पाल्पा। तिनाउ खोला मा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन् ।तिनाउ गाउँपालिका–३ स्थित दोभान ड्यामसाइड क्षेत्रमा रहेको जलविद्युत आयोजनाको हेडबक्स नजिक उनीहरू डुबेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाँच जनाको समूहमा आएका पर्यटकमध्ये दुई जना पुरुष अचानक डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरी ले घटनाबारे जानकारी दिँदै बेपत्ता भएका व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको बताए ।

घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीयवासी, सशस्त्र प्रहरी बल तथा दोभान प्रहरी चौकीबाट खटिएको टोलीले खोजी कार्य तीव्र बनाएको छ ।प्रहरीका अनुसार घटनास्थलमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ । बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।