काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ घण्टादेखि ट्राफिक जाम भएको छ।सडकको बीच भागमै ट्रक बिग्रिएपछि सवारी आवागमन प्रभावित हुँदा सो क्षेत्रमा सवारी साधनहरूको लामो लाइन लागेको हो।

इलाका प्रहरी कार्यालय गजुरी का अनुसार बिग्रिएको ट्रकका कारण सडक अवरुद्ध भएपछि सवारी साधन लामो समयसम्म रोकिएका छन्। अहिले प्रहरी तथा ट्राफिक प्रहरीले सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्दै जाम खुलाउने प्रयास गरिरहेका छन्।
प्रहरीका अनुसार बिग्रिएको ट्रक हटाउने काम जारी रहेको र केही समयमै जाम पूर्ण रूपमा खुल्ने अपेक्षा गरिएको छ। साथै यात्रु तथा सवारी चालकलाई धैर्यतापूर्वक यात्रा गर्न पनि आग्रह गरिएको छ।
पृथ्वी राजमार्ग राजधानी काठमाडौं लाई देशका पश्चिमी तथा मध्य भूभागसँग जोड्ने मुख्य मार्ग मानिन्छ। यही सडक अवरुद्ध हुँदा राजधानी भित्रिने तथा बाहिरिने सवारी साधनहरू समेत प्रभावित भएका छन्।






