काठमाडौं । धनुषा १ मा मतगणनाको विषयलाई लिएर विवाद भएको छ । सो क्षेत्रमा रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज भएकोमा नेकपाका मातृका यादवले सबैभन्दा बढी मत ल्याएका छन् ।
मतगणनाअनुसार यादवले १० हजार ४२८ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार रामपल्टन साहले नौ हजार ४८५ मत पाएका छन् ।

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध रास्वपाका साहले दिएको रिट सर्वोच्च अदालतमा विचाराधीन भएकाले निर्वाचन आयोगले त्यहाँको नतिजा सार्वजनिक नगर्न भनेको छ । साहको रिटमा सोमबार अदालतमा सुनुवाइ हुँदैछ ।

ADVERTISEMENT

साहले निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा परेको छ। अदालतको दैनिक पेसी सूचीअनुसार यो मुद्दा सुनुवाइका लागि चौथो नम्बर (घ) मा तोकिएको छ।

ठेक्कापट्टाको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका साहको उम्मेदवारी निर्वाचनको दुई दिनअघि मात्र निर्वाचन आयोगले खारेज गरेको थियो। उनी सञ्चालक रहेको किशोर कन्स्ट्रक्सनलाई कर्जा सूचना केन्द्रले २०७९ असोज ३१ र २०८० पुस ६ गते कालोसूचीमा राखेको प्रमाणसहित उजुरी परेपछि आयोगले निर्वाचन ऐन, २०७४ बमोजिम उनको उम्मेदवारी रद्द गरेको थियो।

ADVERTISEMENT

उम्मेदवारी खारेजीको विवादबीच धनुषा १ मा मतदान र मतगणना भने शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ। खारेजीमा परेका तिनै रास्वपाका उम्मेदवार साहले अन्य प्रतिस्पर्धीको तुलनामा अत्यधिक धेरै मत प्राप्त गरेका छन्।

यसैबीच, नेकपाले वक्तव्य जारी गर्दै पहिलो स्थानमा रहेका आफ्ना उम्मेदवार यादवलाई निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ ।

सोमबार नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘निर्वाचन आयोगले फागुन १८ गते नै रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा सम्पूर्ण प्रक्रिया पूरा भई हाम्रा उम्मेदवार विजयी भइसक्दा पनि प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय हो।’

कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको र उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित विषय देखाएर प्रमाणपत्र वितरणमा रोक लगाउनु कानुनविपरीत भएको नेकपाको ठहर छ। पार्टीले निर्वाचन आयोगलाई कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले विधिको शासन पालना गर्न आग्रह गरेको छ।