विराटनगर– विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ । यस सम्बन्धमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच शुक्रबार विराटनगरमा औपचारिक सम्झौता भएको हो । सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘ हाइड्रेसन पार्टनर’ का रूपमा विराट एक्स्पोसँग जोडिएका छन् ।
आगामी पौष २ देखि ११ गते सम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पोको यो नवौँ संस्करण हो । करिब तीन दशकदेखि उद्योग संगठन मोरङले आयोजना गर्दै आएको विराट एक्स्पो पूर्वी नेपालको महत्त्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीका रूपमा स्थापित छ।
यस वर्षको एक्स्पोलाई परम्परागत प्रदर्शनीभन्दा फराकिलो बनाउँदै लर्न एण्ड वर्क, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार र मनोरञ्जन लगायतका विभिन्न अवसरसँग जोडिने आयोजकले जनाएको छ । एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहनेछ। आयोजकले २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरेको छ ।





