काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा विजयी भएका आफ्ना उम्मेदवारहरूलाई विजय र्याली, अबिर जात्रा तथा कुनै पनि प्रकारका उत्सव नमनाउन निर्देशन दिएको छ।
पार्टीका उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डिपी अर्यालले भिडियो सन्देशमार्फत यस्तो निर्देशन दिएका हुन्। काठमाडौं क्षेत्र नम्बर–९ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका अर्यालले मतदाताको मत र विश्वासका आधारमा उम्मेदवारहरू निर्वाचित भइरहेको बताएका छन्।
निर्वाचित भएपछि मतदातासँग घरदैलोमा गएर खुसी साट्ने दिन अवश्य आउने भए पनि अहिले उत्सव मनाउने समय नभई काम गर्ने बेला भएकोमा उनले जोड दिए।
उत्सव नमनाउनुपर्ने मुख्य दुई कारणबारे अर्यालले प्रस्ट पारेका छन्। देशमा हालै भएका दुःखद घटनाहरू तथा मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण अहिले उत्सव मनाउने उपयुक्त समय नभएको उनको भनाइ छ।
“हाम्रा साना नानीबाबुहरू, जेन्जी उमेर समूहका छोराछोरीहरूले ज्यान गुमाएको पीडा अझै सेलाएको छैन। साथै मध्यपूर्वमा भइरहेका घटनाक्रमलाई हेर्दा पनि अहिले अबिर जात्रा गर्ने र उत्सव मनाउने अवस्था छैन,” उनले भने।
देशभरबाट सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न नागरिकले दिएको समर्थनलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए। जनताले काम गर्नका लागि मत दिएको भन्दै विजयी भइसकेपछि उत्साहमा बहकिन नहुने उनको भनाइ छ।
“हामीलाई जनताले सरकार बनाउनुहोस् र जनताको लागि काम गर्नुहोस् भनेर दिएको म्यान्डेट हो। काम गरेर देखाएपछि मात्रै घरदैलोमा गएर अबिर जात्रा गर्ने र रमाइलो गर्ने दिन आउनेछ,” अर्यालले भने।
उनले विजयी उम्मेदवारहरूलाई मतगणना स्थलमा उपस्थित सुभेच्छुकहरूलाई धन्यवाद दिन मात्र आग्रह गर्दै फूलमाला, गाडी तथा मोटरसाइकल र्याली जस्ता कार्यक्रम पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएका छन्।
रास्वपाको निर्देशन : विजयी भएपछि विजय र्याली र अबिर जात्रा नगर्नू







