काठमाडौँ । सरकारले नेपाल लेखापरीक्षण सेवाका विभिन्न पदमा सेवा प्रवेशका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता संशोधन गरेको छ। नयाँ व्यवस्थाले चार्टर्ड एकाउन्टेन्सी (सीए) उत्तीर्ण जनशक्तिलाई राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका पदमा प्रवेशको बाटो खुला गरेको छ।
नेपाल लेखापरीक्षण सेवा (गठन, श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५१ को नियम १३ ले दिएको अधिकार प्रयोग गर्दै सरकारले अनुसूची–२ मा हेरफेर गरेको हो। संशोधित व्यवस्था असोज ४ गते प्रकाशित नेपाल राजपत्रमा समावेश गरिएको छ।
सहसचिवमा सीएसहित स्नातकोत्तर
राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिव पदमा सेवा प्रवेशका लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा लेखा वा वित्त विषयसहित स्नातकोत्तर तह उत्तीर्ण गरी आवश्यक अनुभव हासिल गरेको हुनुपर्नेछ।
त्यसको विकल्पमा कुनै विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी परीक्षा पास गरेको र निजामती सेवा ऐनले तोकेको अनुभव हासिल गरेको व्यक्ति पनि योग्य हुने व्यवस्था गरिएको छ।
उपसचिवमा पनि सीएलाई अवसर
राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिव पदका लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा लेखा वा वित्त विषयसहित स्नातकोत्तर तह उत्तीर्ण गरेको वा कुनै विषयमा स्नातकोत्तर तहसँगै चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी आवश्यक अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ।
विशेषज्ञ पदका लागि भने व्यवस्थापन, व्यापार प्रशासन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधिसँगै सीए उत्तीर्ण गरी सरकारी सेवा वा कानुनबमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघसंस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव आवश्यक पर्नेछ।
शाखा अधिकृतमा पनि सीए योग्य
राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत पदका लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा लेखा वा वित्त विषयसहित स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी परीक्षा पास गरेको व्यक्ति पनि उक्त पदका लागि योग्य हुने व्यवस्था गरिएको छ।
यससँगै लेखापरीक्षण सेवाको अधिकृत तहमा प्रवेशका लागि विषयगत शैक्षिक योग्यतालाई थप स्पष्ट गर्दै सीए उत्तीर्ण जनशक्तिलाई वैकल्पिक प्रवेश आधार दिइएको छ।
अनङ्कित पदको योग्यता पनि संशोधन
राजपत्र अनङ्कित प्रथम श्रेणीको पदका लागि लेखा वा वित्त विषयसहित कक्षा १२, प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
यस्तै, राजपत्र अनङ्कित द्वितीय श्रेणीका लागि एसईईमा कम्तीमा जीपीए २ प्राप्त गरी उत्तीर्ण वा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
संशोधित व्यवस्था नेपाल सरकारका सचिव डा. घनश्याम उपाध्यायको नामबाट राजपत्रमा प्रकाशित भएको हो।
यसअघि सरकारले प्रशासन सेवाअन्तर्गत लेखा समूहका उपसचिव र शाखा अधिकृतको शैक्षिक योग्यतामा समेत संशोधन गर्दै निश्चित अवस्थामा चार्टर्ड एकाउन्टेन्सीलाई प्रवेश योग्यतासँग जोडेको थियो।







