सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्लामा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।

आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा जिल्लाभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलिया ले जानकारी दिए।

ADVERTISEMENT

सर्लाहीका चारवटा निर्वाचन क्षेत्रमा रहेका ५ लाख ११ हजार ६०६ मतदातामध्ये आधाभन्दा केही बढीले मतदान गरेको प्रारम्भिक अनुमान गरिएको छ। सबै मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि मात्र कूल खसेको मतको यकिन विवरण प्राप्त हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत थपलियाका अनुसार एक–दुई स्थानमा सामान्य विवाद भए पनि जिल्लाभर समग्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिका–४ जब्दीस्थित प्राथमिक विद्यालय जब्दी मतदान केन्द्रमा दलका प्रतिनिधिबीच विवाद हुँदा केही समय मतदान रोकिएको थियो। त्यहाँ प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया सहितको सुरक्षा टोली पुगेपछि अवस्था नियन्त्रणमा आएर पुनः मतदान सुचारु भएको थियो।

ADVERTISEMENT

यसैगरी क्षेत्र नं. ४ कै बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालय भवानीपुर मतदान केन्द्रमा पनि बिहान दलका प्रतिनिधिबीच विवाद हुँदा केही समय मतदान अवरुद्ध भएको थियो। जब्दी र भवानीपुरबाहेक जिल्लाभर रहेका ६२८ मतदान केन्द्रमा भने कुनै उल्लेख्य विवाद नभई शान्तिपूर्वक मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।

मतदान सम्पन्न भएसँगै चारवटै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी अघि बढाइएको छ। सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भएपछि मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक बस्ने मुख्य निर्वाचन अधिकृत थपलियाले बताए।

राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिसहितको बैठकले आचारसंहिता तय गरेपछि मात्र मतगणना सुरु गरिनेछ। सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट मतपेटिका संकलन गर्न र निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन मध्यरातसम्म लाग्ने अनुमान गरिएको छ।

बैठकले निर्णय गरेमा मध्यरातिदेखि नै मतगणना सुरु हुने र अन्यथा भोलि बिहानदेखि गणना सुरु गरिने थपलियाले जानकारी दिए। मतगणनाका लागि चारवटै निर्वाचन क्षेत्रमा तारजाली र सीसी क्यामेरा जडानसहितको मतगणनास्थल तयार पारिएको छ।

निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ को लालबन्दी–१० चन्द्रपुरस्थित वडा कार्यालय, क्षेत्र नं. २ को मलंगवा स्थित जिल्ला समन्वय समितिको सभा हल, क्षेत्र नं. ३ को हरिवन स्थित नापी कार्यालय र क्षेत्र नं. ४ को बेणी भोला नमूना माध्यमिक विद्यालय मा मतगणना हुने जनाइएको छ।