मलङ्गवा(सर्लाही)। सर्लाहीको सदरमुकाम मलङ्गवा मा आज बेवारिसे अवस्थामा फेला परेको पेस्तोल पड्किँदा एक १५ वर्षीय बालक घाइते भएका छन्।
मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका छोरा आकाश राम ‘ढाकाबोर्डर’ भनेर चिनिने स्थानमा गोली लागेर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु खोली हेर्दा पेस्तोल फेला परेको थियो। सो पेस्तोल नक्कली होला भन्ने अनुमानका आधारमा चलाउने क्रममा पड्किँदा बालकको दाहिने हातको पञ्जामा गोली लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले बालकको हातमा गोली लागेको पुष्टि गर्नुभयो। घाइते बालकलाई तत्कालै प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका लागि लगिएको र हाल उहाँको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट पेस्तोल नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक विवरणअनुसार उक्त हतियार कसले र किन त्यहाँ राखेको भन्ने विषय खुल्न बाँकी रहेको छ।
यसैबीच, गत फागुन ३ गते राति मलङ्गवामै अज्ञात व्यक्तिबाट भएको गोली प्रहारमा भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो। प्रहरीले हाल फेला परेको हतियार उक्त घटनासँग सम्बन्धित हुन सक्ने आशंकामा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनाबारे थप तथ्य खुल्ने क्रम जारी रहेको र संलग्न व्यक्ति वा पृष्ठभूमिबारे विस्तृत जानकारी अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ।





