काठमाडौं । श्रीलङ्काको दक्षिणी समुद्री तट नजिक इरानी युद्धपोत डुब्दा करिब १५० जना बेपत्ता भएका छन् । केहीको मृत्यु भएको आशंका गरिएको छ । बुधबार बिहान जहाजमा सम्भावित विस्फोट भएपछि दुर्घटना भएको अधिकारीहरूले बताएका छन्, तर यसको वास्तविक कारण अझै खुल्न सकेको छैन ।
श्रीलङ्काली नौसेनाका अनुसार ‘आईआरआईएस डेना’ नामक युद्धपोतबाट ३२ जनाको सकुशल उद्धार गरिएको छ । बाँकी १४८ जना अझै बेपत्ता रहेका छन् । उद्धार गरिएका घाइतेलाई गालेस्थित मुख्य अस्पतालमा भर्ना गरिएको छ ।
विदेशमन्त्री विजिथा हेराथका अनुसार युद्धपोतले बुधबार बिहान आपतकालीन सन्देश पठाएको थियो । त्यसको करिब एक घण्टाभित्र गाले बन्दरगाहबाट ४० किलोमिटर दक्षिणमा रहेको घटनास्थलमा उद्धार टोली पुगेको थियो । तर टोली पुग्दा जहाज पूर्ण रूपमा डुबिसकेको र समुद्र सतहमा तेलको तह मात्र देखिएको उनले बताए ।
नौसेनाका प्रवक्ता बुद्धिका सम्पथले जहाज डुबेको क्षेत्र श्रीलङ्काको खोज तथा उद्धार क्षेत्रभित्र पर्ने भएकाले अन्तर्राष्ट्रिय समुद्री दायित्वअनुसार उद्धार कार्य अघि बढाइएको बताए । खोजीका क्रममा केही शव फेला परेको जनाइएको छ ।
गालेस्थित करापिटिया शिक्षण अस्पतालका निर्देशकले हालसम्म ३२ जना घाइतेलाई मात्रै अस्पताल ल्याइएको पुष्टि गरेका छन् । मृतकको आधिकारिक संख्या भने सार्वजनिक गरिएको छैन ।
उक्त युद्धपोत भारतको विशाखापट्टनम बन्दरगाहमा सम्पन्न सैन्य अभ्यासमा सहभागी भएर फर्किरहेको बताइएको छ । यसबीच मध्यपूर्वमा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव बढिरहेका बेला यो घटना भएको हो ।
संसदमा एक विपक्षी सांसदले जहाजमाथि आक्रमण भएको हुनसक्ने आशंका व्यक्त गरे पनि सरकारले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । कोलम्बोस्थित इरानी राजदूतले पनि औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।
घटनापछि गाले अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । श्रीलङ्काली नौसेना र वायुसेनाले उद्धार कार्यका दृश्य सार्वजनिक नगर्ने बताएका छन्, किनकि यो अर्को देशको सैन्य जहाजसँग सम्बन्धित विषय हो ।








