काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न गरेको जनाएको छ। आयोगका अनुसार प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छापिएको छ।
यस पटक देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन्। कुल मतदातामध्ये ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष र ९२ लाख ४० हजार १ सय ३१ महिला छन्। अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष ९ लाख १५ हजार १ सय १९ मतदाता थपिएका छन्।
निर्वाचन आयोगले कुल मतदाताको संख्याभन्दा ४२ लाख ९३ हजार १ सय १० वटा मतपत्र बढी छापिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार करिब ७ प्रतिशत बराबर मतपत्र अतिरिक्त रूपमा छापिएको हो।
आपत्कालीन तथा भैपरी आउने अवस्थालाई ध्यानमा राख्दै हरेक निर्वाचनमा अतिरिक्त मतपत्र छाप्ने गरिएको आयोगले जनाएको छ। मतपत्र नष्ट हुन सक्ने, ढुवानीका क्रममा फरक स्थानमा पुग्न सक्ने, मौसमका कारण बिग्रन सक्ने वा मतदानस्थलमै क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अतिरिक्त मतपत्र तयारी गरिने गरिएको जीसीले बताए।
मतपत्र छपाइ सकियो :४ करोडभन्दा बढी मतपत्र तयारी



