काठमाडौं। जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आइतबार पनि कर्फ्यु आदेश निरन्तरता दिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार साँझ सूचना जारी गर्दै कर्फ्यु भोलिसम्म कायम रहने जनाएका हुन्।
प्रशासनका अनुसार शनिबार दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु आइतबार बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ। अत्यावश्यक कामका लागि बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म दुई घण्टा कर्फ्यु खुकुलो पारिनेछ। उक्त अवधिमा पनि भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ। बिहान साढे ८ बजेदेखि अर्को आदेश जारी नभएसम्म पुनः कर्फ्यु लागू रहने प्रशासनले जनाएको छ। आदेश उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
कर्फ्युको सीमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालयसम्म तोकिएको छ। प्रशासनले सर्वसाधारणलाई शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ।
शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद चर्किएपछि झडपमा परिणत हुँदा स्थिति तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रयोग गरेको थियो।
झडपका क्रममा प्रदर्शनकारीले ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी गरेका थिए। त्यसपछि प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यु लगाउँदै सेना परिचालन गरी अवस्था नियन्त्रणमा लिएको जनाएको छ।





