काठमाडौं।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १३ हजार ऋणी सदस्यको चलअचल सम्पत्ति रोक्का राखेको छ। बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम असुलीका लागि बैंक खाता, सेयर तथा अचल सम्पत्तिसमेत रोक्का गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार हालसम्म ७४ हजार ३ सय ७ जना बचतकर्ताबाट ४४ अर्ब ४८ करोड ९० लाख ५ हजार ६ सय २६ रुपैयाँ बराबरको बचत मागदाबी पेस भएको छ। तीमध्ये ४ अर्ब १२ करोड ६६ लाख ५ हजार ६ सय ५४ रुपैयाँ बचत फिर्ता तथा मिलान कार्य सम्पन्न भएको जनाइएको छ।

ADVERTISEMENT

समिति गठनदेखि हालसम्म २३ सहकारी संस्था जिम्मेवारीमा आएकोमा तीन संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गरी राफसाफ भइसकेको छ भने बाँकी २० संस्थाको प्रक्रिया जारी रहेको छ।

कार्यालयका अनुसार अधिकांश समस्याग्रस्त सहकारी संस्थाको पूँजी अपर्याप्त र असुली नहुने कर्जा उच्च भएकाले बचतकर्ताको रकम पूर्ण रूपमा फिर्ता गर्न कठिनाइ भइरहेको छ। अचल सम्पत्ति मूल्यांकन, मौद्रिक कारोबारमार्फत प्राप्ति प्रक्रिया जटिल र प्रक्रियामुखी हुँदा ऋण असुली कार्य प्रभावकारी बनाउन चुनौती थपिएको छ।

ADVERTISEMENT

कार्यालयका एक अधिकारीका अनुसार दक्ष र अनुभवी जनशक्तिको अभाव, कर्मचारी सरुवा, अभिलेख अद्यावधिक नभएको अवस्था, सूचना लुकाउने प्रवृत्ति तथा गलत सूचना प्रवाहजस्ता कारणले समस्या झन् जटिल बनेको छ।

सहकारी संस्थामा रकम हिनामिना, गलत कर्जा प्रवाह तथा कारोबार विवरणमा पारदर्शिता नहुँदा पीडितलाई बचत फिर्ता गर्न कानुनी तथा प्रक्रियागत ढिलाइ भइरहेको कार्यालयले जनाएको छ। सरोकारवालाको प्रभावकारी समन्वय र सहयोग बिना बाँकी सहकारीहरूको राफसाफ प्रक्रिया सहज नहुने समितिको निष्कर्ष छ।