काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा तारेख लिएका छन् ।

सोमबार बिहान रुपन्देहीमा चुनावी प्रचारप्रसार अभियानकै दौरानमा रविले खाना खान जाने भनेर सुटुक्क अदालत प्रवेश गरी तारिख बुझेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दा खेपिरहेका रविलाई माघ २६ गते अदालतमा हाजिर हुन मिति तोकिएको थियो । त्यही मेसोमा उनी ११ बजे अदालतमा हाजिर हुन पुगेका थिए ।

सीमित कार्यकर्ता लिएर अदालत प्रवेश गरेका रवि हतार हतार निस्किएका थिए । उनी अदालत प्रवेश गरेर तारिख बुझेको कार्यकर्ताले भेउ नै पाएनन् ।

सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको छ । यसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रविको नाममा ऋण लिएको पाइएको छ ।

तारिख लिन रुपन्देही आएका रवि सोमबार बिहानैदेखि जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा चुनावी दौडाहामा छन् । उनले पाँच क्षेत्रका २६ ठाउँमा सम्बोधन गर्ने कार्यक्रम चलिरहेको छ । रविको आगामी तारिख चैत ५ गतेलाई तोकिएको छ । यसअघि उम्मेदवार मनाेनयनकै दिन रवि पर्सा जिल्ला अदालतमा एक कराेड धराैटी राखेर रिहा भएका थिए ।

पाँचवटा जिल्ला अदालत, उच्च र सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन भए पनि रविले भने आफू बेकसुर रहेकाे दाबी गर्दै आएका छन् । रविले सुप्रिम सहकारी ठगीमा आफूलाई ताेकिएकाे पाैने चार कराेड बिगाे बुझाइसकेका छन् ।