काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन् । मन्त्रिपरिषद्को असोज ९ गतेको निर्णयबाट शर्मा अध्यक्षमा नियुक्त भएका थिए । उनले आजै कार्यभार सम्हाल्ने भएका छन् ।
बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त शरद ओझाको योग्यताका विषयमा प्रश्न उठेपछि यसअघिको सरकारले उनलाई पदबाट हटाएको थियो । तर सर्वोच्च अदालतको अन्तरकालीन आदेशअनुसार उनले प्राधिकरणमा हाजिर गरेका थिए ।
अर्थ मन्त्रालयले उनलाई हाजिर गर्न रोक लगाएको थियो । बिहीबारको मन्त्रिपरिषद् बैठकले ओझाको स्थानमा शर्मालाई अध्यक्ष नियुक्त गरेको हो ।






