काठमाडौँ । नारायणी नदीको पुलमुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी सोमबार बिहानबाट पुनः सुरु गरिएको छ। प्राविधिक टोलीले बिहान १० बजेसम्म सुरक्षित रूपमा क्रुज सिप निकाल्ने लक्ष्यसहित तयारी अघि बढाएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार पुलको पिल्लरमा न्यूनतम क्षति हुने गरी क्रुज सिप निकाल्ने प्रयास भइरहेको छ। प्राविधिकहरूसँगको छलफलपछि आवश्यक तयारी पूरा गरिएको उनले बताए।

ADVERTISEMENT

क्रुज सिप निकाल्न क्रेनसमेत प्रयोग गरिनेछ। क्रेन क्रुज सिप अड्किएको स्थानसम्म पुर्‍याउन आइतबार रातिसम्म दुईवटा एक्स्काभेटर प्रयोग गरेर बाटो बनाइएको थियो।

ADVERTISEMENT

सोमबार बिहानसम्म प्रमुख जिल्ला अधिकारी अर्याल, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख तथा इन्जिनियरहरूको टोली घटनास्थलमा खटिएको थियो।

क्रुज सिप निकाल्न दुई विकल्प

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार क्रुज सिप निकाल्न दुई विकल्पमा प्राविधिक तयारी गरिएको छ।

ADVERTISEMENT

पहिलो विकल्पमा सिंगै क्रुज सिपलाई तानेर नदीको किनारतर्फ ल्याउने र दोस्रो विकल्पमा क्रुज सिपलाई काटेर टुक्रा–टुक्रा पार्दै निकाल्ने योजना रहेको छ।

करिब ६० टन भार रहेको क्रुज सिपभित्र पानीसमेत भरिएको र नदीको बहावको दबाबसमेत रहेकाले प्राविधिक पक्षलाई ध्यान दिएर काम भइरहेको अर्यालले बताए।

भारी सवारीमा भने रोक

पूर्वी नवलपरासीको गैँडाकोट क्षेत्रमा रुखमा बाँधिएको राइनो क्रुज सिप नारायणी नदीमा आएको बाढीले बगाएको थियो। बाढीले बगाएको क्रुज सिप नारायणी पुलको पिल्लरमा अड्किएपछि पुलबाट सवारी आवागमन रोकिएको थियो।

तर प्राविधिकको सुझावअनुसार सोमबार बिहानदेखि अत्यधिक भार भएका सवारीसाधनबाहेकका गाडीलाई नियन्त्रित रूपमा सञ्चालन गर्न दिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

पुलमा भारी सवारीसाधनलाई दोहोरो आवागमन हुन नदिई नियन्त्रित रूपमा यातायात सञ्चालन गरिएको छ।