काठमाडौँ । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अनावश्यक रूपमा बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादक, आयातकर्ता तथा वितरकहरूलाई मूल्य समायोजन गर्न निर्देशन दिएको छ।

बुधबार जारी गरिएको विज्ञप्तिमा विभागले अनुचित नाफा नियन्त्रण गर्दै प्रतिस्पर्धी र पारदर्शी बजार व्यवस्था कायम गर्न सरोकारवालालाई सचेत गराएको छ। विभागका अनुसार, खाद्यान्न र खानेतेलका प्रमुख उत्पादक, आयातकर्ता तथा वितरकलाई बोलाई उचित मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन र अत्यधिक मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको हो।

विभागले पछिल्ला दिनहरूमा खानेतेल, ग्यास, चामललगायत अत्यावश्यक उपभोग्य वस्तुको मूल्य वृद्धि र आपूर्तिमा आएको कमीप्रति उपभोक्ता तथा सञ्चारमाध्यमबाट व्यापक गुनासो आएको जनाएको छ।

ADVERTISEMENT

उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ अनुसार उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा पाउने अधिकार सुनिश्चित गर्न विभाग निरन्तर सक्रिय र प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। यसै प्रयोजनका लागि विभागले अन्य सम्बन्धित निकायसँग सहकार्य गर्दै उत्पादक, विक्रेता, आयातकर्ता, भण्डारकर्ता र सेवाप्रदायक फर्महरूमा संयुक्त अनुगमनलाई तीव्र बनाएको जनाएको छ।

ADVERTISEMENT