म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सुरु भएको छ। मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले बेनी कालिपुल बसपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या र आग्रा हुँदै नयाँ दिल्लीसम्म पुग्ने बस सेवा सञ्चालनमा ल्याएका हुन्।

बस सेवाको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गरेका छन्। सेवा सुरु भएपछि म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका यात्रुहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ। यसअघि भारत जान पोखरा पुग्नुपर्ने बाध्यता रहेकोमा अब बेनीबाटै सिधा दिल्ली जान सकिने भएको छ।

ADVERTISEMENT

मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीका अनुसार बेनीदेखि दिल्लीसम्मको यात्रा समय करिब २७ घण्टा रहनेछ। बेनीबाट हरेक दिन बिहान ६ः४५ बजे र दिल्लीको सरोजनी नगरबाट साँझ ४ः०० बजे बस छुट्नेछ। बेनीबाट दिल्लीसम्मको भाडा प्रतियात्रु ५४ सय रुपैयाँ र दिल्लीबाट बेनीसम्म ३२ सय भारतीय रुपैयाँ तोकिएको छ।

ADVERTISEMENT

४५ सिट क्षमताको बसले करिब १४ सय किलोमिटर दूरी पार गर्नेछ। यस सेवाले म्याग्दी र मुस्ताङका धार्मिक स्थललाई भारतसँग जोड्दै भारतीय पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। गलेश्वरधाम, पुलह आश्रम र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकका लागि पनि बस सेवा सहज हुने बताइएको छ।

सृष्टि यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपाल–भारत मैत्री बस सेवा कार्यक्रमअन्तर्गत दिल्लीदेखि कालीगण्डकी करिडोर हुँदै म्याग्दी भएर चीनको सिमानामा रहेको कोरला नाकासम्म यातायात विस्तार गर्ने पहल भइरहेको जानकारी दिए।

ADVERTISEMENT

स्थानीयवासीका अनुसार यो सेवा सुरु भएपछि रोजगार, शिक्षा, उपचार र अन्य कामका लागि भारत जाने यात्रुहरूलाई समय र खर्च दुवै बचत हुने भएको छ। साथै रेलभन्दा सस्तो भाडा र लुटपाटको जोखिम कम हुने अपेक्षा गरिएको छ।