काठमाडौँ । नेपालमा विसं २०८३ को पञ्चाङ्ग (पात्रो) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।
समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार, वर्तमान र पूर्वपदाधिकारी, धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र र ज्योतिष विभागका प्राध्यापक, नेवारी र अन्य समुदायका विशेषज्ञ, प्रदेश सरकार तथा स्थानीय तहका प्रतिनिधि, र विभिन्न धार्मिक तथा सांस्कृतिक सङ्घ संस्थाका प्रतिनिधिबीच घनिभूत छलफल गरी पञ्चाङ्ग निर्माण गरिएको हो।
छलफलपछि विसं २०८२ मा प्रकाशन भएका १८ वटा पात्रोलाई यस वर्ष पनि प्रकाशनको स्वीकृति दिइएको छ। प्रकाशन स्वीकृति पाउने पात्रोहरूमा सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुङ्गेलको सूर्य, लोकराज पौडेलको आकाशदर्शन, शशीधर जोशीको बगलामुखी, दामोदर अँठोला जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ, नारायणप्रसाद नेपालको गौरीशङ्कर, केशवराज जोशीको भृगु अङ्गिरा, खगेन्द्रप्रसाद अधिकारीको कश्यप, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र नारायणप्रसाद निरौलाको आर्यावर्त पञ्चाङ्ग समावेश छन्।
विसं २०८१ सम्म १४ वटा पञ्चाङ्ग मात्र प्रकाशन हुँदै आएका थिए भने २०८२ मा चार नयाँ पात्रोले स्वीकृति पाएका थिए। यस वर्ष स्वीकृति दिइएका चार पात्रोलाई दुई वर्षे परीक्षण कालपछि स्थायी प्रकाशनको अनुमति दिइएको छ। यसैबिच, नयाँ अर्को पात्रोले पनि प्रकाशनको लागि स्वीकृति मागेको तर निर्णय बाँकी रहेको छ।
पाँचौँ साता आउने प्रचलन अनुसार यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ गर्दा प्रकाशनमा करिब १० दिन ढिलाइ भएको छ। समितिलाई पञ्चाङ्ग, भित्तेपात्रो प्रकाशनको स्वीकृति, चाडबाड र तिथिमिति निर्णय तथा धर्म–संस्कृतिको नियमनको जिम्मेवारी गठन आदेश २०७७ अन्तर्गत दिइएको छ।












