काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौड्यालले नेपालले हाल युनिभर्सल बैंकिङ प्रणाली नभई सेग्मेन्टेड बैंकिङ प्रणाली अवलम्बन गरिरहेको स्पष्ट पारे। काठमाडौँमा आयोजित बीमा सम्बन्धी एक कार्यक्रममा बोल्दै उनले बैंक, बीमा र पुँजी बजारलाई फरक–फरक नियमनकारी निकायमार्फत सञ्चालन र नियमन गरिँदै आएको बताएका छन् ।

उनका अनुसार युनिभर्सल बैंकिङ प्रणालीमा वाणिज्य बैंकिङ, लगानी बैंकिङ, सम्पत्ति व्यवस्थापन र बीमा जस्ता सेवाहरू एउटै छातामुनि सञ्चालन गरिन्छ। तर नेपालले भने वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त तथा बीमा र पुँजी बजारलाई अलग–अलग संरचना र नियमनमार्फत अघि बढाइरहेको छ। बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने गरेको छ भने बीमा क्षेत्र बीमा प्राधिकरण र पुँजी बजार सेबोनको मातहतमा रहेको उनले उल्लेख गरे।

ADVERTISEMENT

नेपालमा बैंकास्योरेन्स अभ्यासका सन्दर्भमा बोल्दै उनले  विगतमा बैंकहरूले बीमा अभिकर्ताको रूपमा काम गर्दै आएका बेला मिस–सेलिङ, फोर्स सेलिङ र स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) जस्ता गुनासाहरू बढेको बता। यही कारण २०७६ सालको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष रूपमा बीमा बेच्ने अभ्यास रोकिएको उनको भनाइ छ।

ADVERTISEMENT

“बीमा बेच्ने काम बीमा कम्पनीले नै गर्नुपर्छ र ग्राहकलाई कुन बीमा कम्पनी छनोट गर्ने भन्ने पूर्ण स्वतन्त्रता हुनुपर्छ,” उनले भने, “यदि बैंकले सीमित बीमा कम्पनीसँग मात्रै सहकार्य गरेर कर्जा लिने ग्राहकलाई त्यही कम्पनीको बीमा गर्न बाध्य बनाइयो भने त्यो फोर्स सेलिङ हुन्छ, जुन उपयुक्त हुँदैन।”

ग्राहकको छनोटको अधिकार सुरक्षित राख्न र वित्तीय प्रणालीमा कुनै किसिमको अस्थिरता नआओस् भन्ने उद्देश्यले नेपालमा सेग्मेन्टेड बैंकिङ प्रणाली अपनाइएको उनको स्पष्टोक्ति थियो। बैंक, बीमा र पुँजी बजारबीच नियमनकारी आर्बिट्रेज नहोस् भन्नेतर्फ पनि राष्ट्र बैंक सचेत रहेको उनले बताए।

ADVERTISEMENT