काठमाडौं । एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन एकैदिन पूर्वयात्रामा निस्कन लागेका छन् । ओलीले निर्वाचन जित्दै आएको झापा ५ मा रास्वपाले बालेनलाई उम्मेदवार बनाएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली १६५ निर्वाचन क्षेत्रको टिकट मिलाएर सोमबार तेह्रथुम पुग्ने भएका छन् । जन्मघर पुगेर उनी मंगलबार बिहान झापा झर्ने भएका छन् । यसअघि उनी झापा पुग्ने र कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यतालिका थियो । तर रास्वपा नेता बालेन सोमबार झापा पुग्ने भएकाले ओलीले कार्यतालिका परिवर्तन गरेको स्रोतले बतायो ।
आइतबार जनकपुरधाम पुगेका बालेनलाई मधेशले गरेको न्यानो स्वागतबाट आत्तिएका ओलीले झापामा आफ्नो पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गरेको बताइन्छ । पहिलोपटक झापा जाँदै गरेका बालेनलाई त्यहाँ भव्य स्वागत गर्ने रास्वपाको तयारी छ ।
बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । ओलीलाई पनि एमालेले प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । ओली यसअघि तीनपटक प्रधानमन्त्री भइसकेका छन् । झापा ५ मा यसपटक ‘फर्मर प्राइममिनिस्टर’ र ‘वेटिङ प्राइममिनिस्टर’ बीच चुनावी भिडन्त हुँदैछ ।
ओली र बालेनको चुनावी प्रतिस्पर्धाले यसपटक अन्य निर्वाचन क्षेत्रको चर्चा कम गरिदिने संकेत देखिएको छ । विगतमा गगन थापा र रवि लामिछानेको निर्वाचन क्षेत्रको चुनावी प्रतिस्पर्धा धेरै हुने गरेको थियो । तर यसपटक ओली र बालेनमध्ये कसले बाजी मार्ला ? भन्ने चासो सुरु भइसकेको छ ।
झापा ५ मा नेकपाले विद्यार्थी नेता रञ्जित तामाङलाई उम्मेदवार सिफारिस गरेको छ । कांग्रेसले सोमबार बेलुकासम्म टिकट फाइनल गर्नेछ । त्यसपछि मात्र सुरु हुनेछ चुनावी भिडन्तको प्रस्ट खाका ।





