कैलाली। कैलाली, कञ्चनपुरलगायत थारू समुदाय बसोबास गर्ने जिल्लाहरूमा माघी पर्वको चहलपहल सुरु भएको छ। पुसको अन्तिम दिनदेखि माघ २ गतेसम्म मनाइने यो पर्व थारू समुदायको नयाँ वर्षका रूपमा लिइन्छ। पुसलाई बिदाइ गर्दै माघ १ गते नयाँ वर्षको स्वागतसँगै गाउँबस्तीमा माघीको उत्सव आरम्भ भएको थारु कल्याणकारी सभाका केन्द्रीय उपाध्यक्ष प्रभातकुमार चौधरीले जानकारी दिए।
माघीको तयारीस्वरूप थारू गाउँमा मासुका लागि जिता मार्ने अर्थात् बङ्गुर काट्ने चलन सुरु भइसकेको छ। राति समुदायको संस्कृतिअनुसार नाचगान गर्ने, रातभर जाग्राम बस्ने, भगवान्को नाममा धमार गाउँदै भजन–कीर्तन गर्ने र आगो ताप्दै रमाइलो गर्ने परम्परा रहेको चौधरीले बताए। यस अवसरमा गञ्जी, तरुललगायत परम्परागत परिकार बनाएर खाने चलन पनि छ।

माघेसंक्रान्तिको दिन बिहानै उठेर नजिकैको नदी वा तलाउमा गएर नुहाउने, नुहाउँदा पानीमा सिक्का वा पैसा चढाउने प्रचलन रहेको छ। नुहाइ सकेपछि धमार गाउँदै घर फर्किने र महिलाले छुट्याइदिएको चामल र मासको दाललाई छोएर छोरीबेटीका लागि छुट्याउने परम्परा रहेको चौधरीले बताए। त्यसपछि घरका पूर्खा र ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने चलन रहिआएको छ। तेस्रो दिन माघ २ गते चामल र मासको दालको खिचडी खाने र नजिकका बजार जाने परम्परा पनि रहेको उनले उल्लेख गरे।
गोदावरी नगरपालिका–८ फकलपुरका स्थानीय माधव चौधरीका अनुसार माघी थारू समुदायको सबैभन्दा ठूलो पर्व भएकाले गाउँबस्ती पूरै उत्सवमय बनेका छन्। मघौटा नाच, लोकगीत, डफ र मादलको आवाजले गाउँघर गुञ्जिन थालेको छ।
माघी पर्वको अवसरमा थारू समुदायले विगत वर्षका गतिविधिको समीक्षा गर्ने चलन पनि छ। यही पर्वसँगै विवाह, अंशवण्डा जस्ता सामाजिक कार्यहरू विधिवत रूपमा सुरु गरिन्छ। “यस दिन आपसी मनमुटाव बिर्सेर आफन्त र इष्टमित्रसँग भेटघाट गर्ने, अण्डी चामलको भात, ढिक्री, मासुलगायत परिकार खाने–खुवाउने परम्परा छ,” चौधरीले बताए।
नयाँ वर्षको सुरुवात भएकाले माघीमा नयाँ लुगा लगाउने चलन छ। रोजगारीका लागि बाहिर गएका परिवारका सदस्यहरू पनि पर्व मनाउन घर फर्किसकेका छन्। माघीमा विशेषगरी अण्डी चामलको भात, रोटी, ढिक्री, बरिया, घोङ्गी, बङ्गुरको मासु, माछा र गङ्गटालगायत स्थानीय परिकार खाने गरिन्छ।
धनगढीको बैयाबेहडीका माइला चौधरीका अनुसार बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने यो पर्व तामझामका साथ मनाइँदै छ। “गाउँमा परिवार, आफन्त र साथीभाइसँग मिलेर खानपिन र रमाइलो भइरहेको छ,” उनले भने, “माघीको चहलपहलले विगतका दुःख र पीडा बिर्साइदिन्छ।”
माघी पर्वलाई थप आकर्षक बनाउन थारू समुदायका गाउँबस्ती आसपासका क्षेत्रमा मेला तथा महोत्सवसमेत आयोजना गरिएको छ।






