काठमाडौं । हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तलाई ‘हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान–२०८३’ प्रदान गरिएको छ।
नेपाल पुलिस क्लबमा आयोजित नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्ना नृत्य तथा अभिनय यात्राका गुरुहरूको सम्मानस्वरूप स्थापना गरेको यो सम्मान प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरा तथा अन्य पूर्व प्रहरी महानिरीक्षकहरूले संयुक्त रूपमा प्रदान गरेका थिए।
कार्यक्रममा गायक तथा संगीतकार डा. किरण प्रधानलाई ‘गोपाल योञ्जन संगीत साधना सम्मान–२०८३’, नृत्यांगना विमला श्रेष्ठ क्षेत्रीलाई ‘राजपाल थापा नृत्य साधना सम्मान–२०८३’, साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापालाई ‘चेतन कार्की गीति वाङ्मय साधना सम्मान–२०८३’ तथा अभिनेता एवं नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई ‘नेपाल पूर्व प्रहरी कला साधना सम्मान–२०८३’ प्रदान गरिएको थियो।
सम्मानित व्यक्तित्वहरूको जीवनयात्रा र कलात्मक योगदान समेटिएको भिडियो प्रस्तुति पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो। साथै, कला, संस्कृति र संघका गतिविधिमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै मिथिला शर्माले आफ्ना गुरुहरू चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले उनीहरूको नाममा सम्मान स्थापना गरेको बताइन्। उनले आमा, बुवा र गुरुको ऋण कहिल्यै तिर्न नसकिने उल्लेख गर्दै गुरुहरूको स्मृतिलाई सम्मानमार्फत जीवित राख्ने प्रयास गरेको बताइन्।
संघका संस्थापक छत्रबहादुर गुरुङले कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको बताए। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस्ता कार्यक्रमले सेवाबाट अवकाश प्राप्त प्रहरी कर्मचारीलाई पनि प्रहरी परिवारसँग जोडिराख्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
कार्यक्रममा पूर्व तथा वर्तमान प्रहरीसँग आबद्ध कलाकारहरूको सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। अभिनेत्री मिथिला शर्माले पनि सरप्राइज प्रस्तुतिका रूपमा आकर्षक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप रौनक बनाएकी थिइन्।





