काठमाडौं। बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।राष्ट्र बैंकले बुधबार १९ दिन अवधिका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम बजारबाट खिच्न लागेको हो। यसअन्तर्गत निक्षेप संकलनको बोलकबोल तथा निष्कासन प्रक्रिया आजै सम्पन्न गरिनेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुनुपर्नेछ। बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र सहभागिता दिइने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता नियन्त्रण गर्न यस्तो उपकरण नियमित रूपमा प्रयोग गर्दै आएको छ। यसबाट बैंकिङ प्रणालीमा सन्तुलन कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निक्षेप संकलन गरिएको रकमको साँवा तथा ब्याज भुक्तानी आगामी वैशाख ३० गते गरिनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने जनाइएको छ।
यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम सीमा तोकिएको रकमसम्म, पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।







