काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आसन्न निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवारी घोषणा गरेका छन् । बुधबार उनले सामाजिक सञ्जालमा लेख्दै सुनसरी–१ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘म सुनसरी क्षेत्र नं। १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु,’ उनले भनेका छन् । हर्क स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । तर अहिले माहोल फेरिएको छ । प्रतिनिधिसभा उम्मेदवार दर्ता माघ ५ गते छ । सांसदकाे उम्मेदवार बन्न हर्कले माघकाे १ वा २ गते नै मेयर पदबाट राजीनामा दिनुपर्नेछ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट जनता समाजवादी पार्टीका अशोक राई निर्वाचित भएका थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अशोक राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत पाएका थिए । तेस्रोमा रहेको माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएका थिए ।
त्यसबेला उपेन्द्र यादवको नेतृत्वमा जसपा सिंगो थियो । अहिले अशोक राईले जसपा विभाजित गरेका छन् । अशोकसँग पहिलेको जस्तो जनमत पनि छैन । यही अवस्थामा धरानका मेयर हर्कले आफू सुनसरी–१ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।
सुनसरी–१ को निर्वाचन क्षेत्र धरान उपमहानगरपालिकाभित्र पर्छ । धरानका मेयर हर्कराज राई २० हजार ८२१ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार किशोर राईले १६ हजार ५९ मत पाएका थिए । एमालेकी मञ्जु भण्डारी सुवेदी १२ हजार ८२५ मत पाएर तेस्रो बनेकी थिइन् ।








