नवलपुर । नारायणगढ–बुटवल सडक विस्तार सम्पन्न भएपछि अहिले सडकको सौन्दर्यीकरणको काम सुरु गरिएको छ । सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्ने, रङरोगन गर्ने र सडक किनारमा आकर्षक बिरुवा रोप्ने काम भइरहेको छ ।
११३ किलोमिटर लामो सडकको बीचमा रहेको तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्ने काम तीव्र पारिएको छ । सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार गैँडाकोट, देवचुली र कावासोतीलगायत क्षेत्रमा दुबो रोप्ने काम भइरहेको छ ।
सडकको मुख्य कालोपत्र गर्ने काम लगभग सकिएको छ । अहिले सर्भिस लेन, पैदलयात्रीका लागि पेटी, रेलिङ निर्माण, डिभाइडरमा रङरोगन तथा सडकका बाँकी सुधारका काम भइरहेका छन् ।
विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले नवलपुरको गैँडाकोटमा शिलान्यास गरेको पूर्वपश्चिम राजमार्गको यो खण्ड करिब ६५ वर्षपछि चार लेनमा विस्तार भएको हो । सडक विस्तारका लागि २०७५ माघमा ठेक्का सम्झौता भएको थियो ।
४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि चार पटक म्याद थप गर्दा करिब आठ वर्ष लागेको थियो । गत साउनमा विस्तारको काम पूरा भएको आयोजनाले जनाएको छ ।
सडक टेकओभर भइसके पनि औपचारिक हस्तान्तरण भने भएको छैन । निर्माण कम्पनीले आगामी पाँच वर्षसम्म सडकमा देखिने निर्माणसम्बन्धी त्रुटि सच्याउनुपर्ने व्यवस्था रहेको सूचना अधिकारी खनालले बताए ।
गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म ४८ किलोमिटर पश्चिम खण्ड गरी दुई भागमा सडक विस्तार गरिएको हो ।
दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो । सडक विस्तारमा करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ । कुल बजेटको ८५ प्रतिशत रकम एसियाली विकास बैंकले १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो ।
विस्तारित सडकमा ७० किलोमिटर चार लेन, २९ किलोमिटर छ लेन र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेन निर्माण गरिएको छ । सडकमा २१ वटा ठूला पुल, ४३ वटा साना पुल र ४६ वटा कल्भर्ट निर्माण गरिएका छन् ।
सवारी दुर्घटना न्यूनीकरणका लागि सडकको अवस्थाअनुसार गति सीमा पनि निर्धारण गरिएको छ । खुला तथा सिधा सडकमा अधिकतम ८० किलोमिटर, बजार क्षेत्र तथा क्रसिङमा ६० किलोमिटर र जङ्गली तथा दाउन्नेको पहाडी क्षेत्रमा ४० किलोमिटर प्रतिघण्टाको गति सीमा तोकिएको छ ।
दाउन्ने क्षेत्रमा कालोपत्र गर्दा सडक बिग्रने र भासिने समस्या देखिएपछि करिब ११ किलोमिटर सडक सिमेन्ट कङ्क्रिटबाट निर्माण गरिएको छ । सडक विस्तारका क्रममा गैँडाकोटदेखि बुटवलसम्म ४९ हजार ८३० वटा रुख काटिएका थिए ।
सडक विस्तारसँगै यातायात आवागमन सहज बनाउने र दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ । अहिले भइरहेको दुबो रोपाइँ तथा सौन्दर्यीकरणले सडकलाई थप व्यवस्थित र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।












