कञ्चनपुर। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मुलुकका अन्य भागमा जस्तै कञ्चनपुरका सहरी तथा सुगम ग्रामीण क्षेत्रमा चुनावी गतिविधि तीव्र बनेका छन्। उम्मेदवारहरू घरदैलो अभियान, कोणसभा र र्यालीमा व्यस्त छन्।
तर शुक्लाफाँटा नगरपालिका–८ स्थित चुरे फेदीको धारापानी गाउँमा भने चुनावको कुनै रौनक देखिएको छैन। २४ घरधुरी रहेको बस्तीमा अहिलेसम्म कुनै उम्मेदवार मत माग्न पुगेका छैनन्।
चुरे पहाडको काखमा रहेको धारापानी प्राकृतिक रूपमा आकर्षक भए पनि यहाँका बासिन्दाको जीवन कठिन छ। २०१२ सालदेखि बसोबास सुरु भएको यो बस्ती अहिले पनि आधारभूत पूर्वाधारबाट वञ्चित छ।
रोजगारी र पूर्वाधार अभावका कारण १५ परिवार जीविकोपार्जनका लागि भारत गएका छन्। हाल नौ परिवार मात्रै बसोबास गरिरहेका छन्।
स्थानीय बालाराम गौतमका अनुसार गाउँमा युवाका लागि रोजगारीको अवसर छैन। कामको खोजीमा युवाहरू भारत जान बाध्य भएका छन्। उनका अनुसार गाउँमा अहिले ज्येष्ठ नागरिकहरू मात्रै बाँकी छन्।
खानेपानीको भरपर्दो व्यवस्था नभएकाले वर्षौँदेखि खोलाको पानी प्रयोग गर्नुपरेको स्थानीयको भनाइ छ। बर्खायाममा धमिलो पानी थिग्र्याएर पिउनुपर्ने अवस्था छ। बस्तीसम्म पुग्ने भरपर्दो सडकसमेत छैन।

स्थानीय रायभान ठगुन्नाका अनुसार हिउँदमा मुस्किलले आवतजावत गर्न सकिने बाटो बर्खामा पहिरोले अवरुद्ध बनाउँछ। बर्खा सुरु भएपछि गाउँको अन्य क्षेत्रसँग सम्पर्क टुट्ने गरेको छ।
गाउँमा बिजुली विस्तारका लागि पोल गाड्ने काम सुरु भएको छ, तर सेवा कहिले सञ्चालनमा आउने निश्चित छैन।
धारापानीको माटो उर्वर छ। यहाँ कागती, अमिलो, आँपलगायतका फलफूल उत्पादन हुन्छन्। मौरीपालनबाट मह उत्पादन भए पनि बजारसम्म पुर्याउन सडक अभावका कारण समस्या छ। उत्पादन बारीमै खेर जाने गरेको स्थानीयले बताएका छन्।
बर्खायाममा धारापानी खोला उर्लिँदा बस्ती जोखिममा पर्छ। तटबन्ध निर्माणको काम अधुरो रहेको स्थानीयको भनाइ छ।
स्वास्थ्य र शिक्षाको अवस्था पनि कमजोर छ। बिरामी पर्दा बजार पुग्न १२ किलोमिटर पैदल हिँड्नुपर्छ। बालबालिकाले चार किलोमिटर टाढाको विद्यालय जान जोखिमपूर्ण बाटो प्रयोग गर्नुपर्छ। गाउँमै बालविकास केन्द्रको आवश्यकता रहेको स्थानीयले बताएका छन्।
वन्यजन्तुबाट पनि क्षति हुँदै आएको छ। बाँदरले बाली नष्ट गर्ने र चितुवाले पशु चौपाया सिकार गर्ने समस्या रहेको छ।
यसपटक उम्मेदवारहरू बस्तीमा नपुगेको भन्दै स्थानीय असन्तुष्ट छन्। उनीहरूले गाउँका आधारभूत समस्या समाधान गर्ने उम्मेदवारलाई सामूहिक रूपमा मतदान गर्ने बताएका छन्।
वर्षौंदेखि बसोबास गरे पनि जग्गाको स्वामित्व प्रमाणपत्र नपाएको भन्दै नापी प्रक्रिया अघि बढाउने पहलको माग गरिएको छ।
प्राकृतिक रूपमा समृद्ध भए पनि विकासबाट पछाडि परेको धारापानीले यसपटकको निर्वाचनबाट परिवर्तनको अपेक्षा गरेको छ। तर विगतझैँ आश्वासनमै सीमित हुने कि ठोस पहल हुने भन्ने प्रश्न भने खुला नै छ।







