राजविराज। सप्तरी जिल्लामा स्थानीय प्रशासनले व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री वितरण गर्ने व्यक्तिहरूलाई कारबाही गरिने जनाएको छ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित र मर्यादित तवरबाट सम्पन्न गर्न यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए।
बैठक अनुसार, जिल्लास्थित खुद्रा मदिरा पसलहरूले व्यवसाय दर्ता बिना घरेलु मदिरा बिक्री गरिरहेको सूचना पाएमा उक्त मदिरा जफत गरी नष्ट गरिने र प्रचलित कानुन अनुसार कारबाही अगाडि बढाइने व्यवस्था गरिएको छ। साथै इजाजत प्राप्त खुद्रा तथा थोक मदिरा बिक्रेताले मदिरा बिक्री वितरण गर्ने समय साँझ ७:०० बजे सम्म र होटल तथा रेस्टुरेन्टमा सेवन समय अधिकतम ८:०० बजे सम्म मात्र सीमित रहने निर्णय गरिएको छ।
त्यस्तै, जिल्लाका मिठाई पसलहरूले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने रङ्ग प्रयोग गरी सामान उत्पादन गरेमा अत्यधिक र अखाद्य रङ्ग भएको उत्पादन जफत गरी कारबाही गरिने प्रशासनले जनाएको छ।
साथै पान पसल, किराना पसल लगायत स्टोरमा इजाजतपत्रबिना सुर्तीजन्य पदार्थ बिक्री वितरण भएमा अनुगमन गरेर आवश्यक कारबाही अगाडि बढाइने पनि निर्णय भएको छ। सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह र क्लबहरूबाट कम्तीमा १०० मिटरको दूरीभित्र बिक्री वितरण भएमा कारबाही प्रक्रिया अगाडि बढाइने व्यवस्था गरिएको छ।








