काठमाडौं, ११ फागुन।निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई उम्मेदवार वा राजनीतिक दलको चुनावी प्रचारप्रसारमा सहभागी नहुन सचेत गराएको छ। प्रचारप्रसारमा संलग्न भएको गुनासो प्राप्त भएपछि आयोगले यस्तो चेतावनी दिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिताको दफा १० अनुसार कार्यक्रम, सभा तथा प्रचारप्रसारमा संलग्न हुन नपाइने उल्लेख गरिएको छ।
उक्त व्यवस्था उल्लंघन भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही गरिने आयोगले जनाएको छ। आयोगले आचारसंहिता पूर्ण रूपमा पालना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।






