सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव व्यवस्थापन गर्न पाँच बुँदे सहमति भएको छ।
बुधबार राति करिब १ बजे भारतबाट सिटी सफारीमा सामान ल्याउँदै गरेका साह सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्युवरण गरेका थिए। घटना पश्चात आक्रोशित स्थानीयहरूले प्रदर्शन जारी राखेका छन्।
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा प्रहरी डीएसपी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत रहेका छन् र यसलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय सीमा दिइएको छ।
सहमतिका अनुसार मृतककी पत्नी र छोरा रोजगारका लागि सहयोग गरिने, साथै लौकहीस्थित एपीएफ बीओपी टोलीलाई फिर्ता पठाउने निर्णय गरिएको छ।

सर्वपक्षीय सहमतिपछि प्रशासन र स्थानीयबीचको वार्ता जारी रहँदा, प्रदर्शन पूर्ण रूपमा रोकिएको छैन।






